भाँडा माझ्दै म्याराथन खेलाडी

भाँडा माझ्दै कमल चापागांइ
राजधानीको सुन्धारास्थित न्यु होटल शिखर जानोस् र भेट्नोस्, कमल चापागाइं, ४८, लाई । तीन दर्जनभन्दा बढी तक्मा र सम्मानपत्र जितिसकेका राष्ट्रिय म्याराथन खेलाडी कमल होटलमा झुत्रा लुगा लगाएर मासिक दुइ हजार रुपियाँमा जुठा भाँडा माझिरेहका हुन्छन् । भन्छन्, "पत्नी, छोरा र तीन छोरीसहितको परिवार पाल्न होटलमा काम गररिहेको छु ।
१० वर्षो कलिलो उमेरदेखि नै घरको आँगन, गल्ली र सडकमा दौडिँदै कडा मिहिनेतका साथ म्याराथन खेल खेल्न सिकेका हुन् उनले । स्थानीय स्तरदेखि क्षेत्रीय स्तरका प्रतियोगितात्मक खेल हुँदै उनी राष्ट्रिय प्रतियोगिताहरूमा सामेल भएका थिए । उनले चर्चित म्याराथन धावक वैकुण्ठ मानन्धर र हरी रोकासँग दौडेर तृतीय स्थान हासिल गरेका थिए ।
नवलपरासी जिल्लाको रामनगर-४ स्थायी घर हो उनको । घर जाँदा साथी-सङ्गीले जिस्क्याउने र आफूलाई राष्ट्रिय म्याराथन खेलाडी भन्न नसक्ने भएकाले २० महिनादेखि गाउँ नफर्केको उनी बताउँछन् । भन्छन्, "यसपालिको दसैँ र तिहारमा पनि म घर गइनँ ।" गरिब परिवारका उनले १४ वर्षम्याराथन खेलमा बिताए । तर, खेलबाट आएको पैसाले परिवारलाई एकछाक खुवाउन र एकसरो लुगा लगाइदिन पनि सकेनन् ।
यति हुँदाहँुदै पनि म्याराथनमा विजयी भई पाएका प्रमाणपत्र र तक्मा सिरानीमा राखेर सुत्ने गरेका छन् उनले । भन्छन्, "मभन्दा कमजोर खेलाडी सोर्सफोर्स लगाएर अन्तर्रास्ट्रिय स्तरका प्रतियोगिताहरूमा सामेल भई हारको सामना गरेर र्फकने गरेका छन् । तर, अन्तर्रास्ट्रिय स्तरको प्रतियोगिता खेल्न सक्ने क्षमता भएर पनि मलाई कसैले वास्ता गरेनन् ।"
अझै पनि म्याराथन खेल्न सक्ने क्षमता भएकाले केही समयअगाडि राष्ट्रिय खेलकुद परिषदमा म्याराथन खेल खेल्न पाउँ भनेर निवेदन दिए उनले। तर, त्यहाँका कर्मचारीहरूले बुढेसकालमा केको म्याराथन भन्दै उल्टै गाली गरेर फर्काइदिएको उनी बताउँछन् । उनलाई होटलमा आउने सबैले माया गरेर बाजे भनी बोलाउँछन् र म्याराथनमा र्फकन सुझाव दिँदै ‘टिप्स’स्वरूप गोजीमा केही रुपियाँ हालिदिन्छन् । भन्छन्, "शरीर बूढो भए पनि मन बूढो भएको छैन । आजै पनि खेलकुदबाट परिवार पाल्न सक्ने स्थिति भयो र राखेपले पनि सहयोग गरेमा म म्याराथन दौडन सक्छु ।"
म्याराथन खेल्नकै लागि समय, पैसा र श्रम खर्चिएकाले उनका तीन छोरीले पढ्न पाएनन् । पैसा कमाउने उमेरमा रातदिन म्याराथन खेल्न हिँडे । अहिले कान्छा छोरालाई पढाउनकै लागि भए पनि होटलमा भाँडा माझ्ने काम थालेको उनी बताउँछन् । भन्छन्, "सुरुसुरुमा त घरबारी बेचेर भए पनि राखेपका हाकिमहरूलाई खुवाएर अन्तर्रास्ट्रिय स्तरमा खेलेरै छाडौँ भन्ने लागेको थियो तर श्रीमतीका कारण मैले घरबारी बेचिनँ । सबै बेचेको भए त भीख माग्दै हिँड्नुपथ्र्यो होला ।"
होटलमा सँधै आगन्तुक पाहुनाहरूको रेखदेखदेखि लिएर भाँडा माझ्ने गरे पनि उनले म्याराथन खेललाई बिर्सन सकेका छैनन् । भन्छन्, "फुर्सदमा विगतमा म्याराथन खेलेर जितेका तक्मा र प्रमाणपत्रहरू हेरेर एकोहोरिन्छु ।" होटल सञ्चालक नारायणप्रसाद शर्मा भन्छन्, "खेलाडी नचिन्ने कस्तो खेलकुद कार्यालय हो – उसको काम भनेको कुन खेलाडी कहाँ के काम गरिराखेका छन्, पुराना खेलाडीको अवस्था कस्तो छ भन्ने रेकर्ड राख्नु होइन र ?"
राष्ट्रिय खेलकुद परिषद्का म्याराथन खेल प्रशिक्षक पुष्पराज ओझा म्याराथन खेलका राष्ट्रिय खेलाडीले होटलमा भाँडा माझ्ने काम गरेको आफूले अहिलेसम्म थाहा नपाएको बताउँछन् । भन्छन्, "कमल चापागाइं राष्ट्रिय म्याराथन खेलाडी हुन्, त्यसैले उनलाई चाँडै नै सम्मानजनक रूपमा सबैसँग सल्लाह गरेर पुनः खेलकुद क्षेत्रमा फर्काउनुपर्छ ।" राखेपले भने थुप्रै खेलाडीले खेलजीवन त्यागेर व्यापार गरेको तर श्रमिकका रूपमा काम नगरेको दाबी गरेको छ ।
source: Nepal national weekly
November 3, 2008 Posted in यता-उता/तल-माथिबाट, समाचार र बिचार, खेल जगत BY Administrator



