मातृकाले झापड हाने प्रचन्डलाई ….
नेकपा एकिकृतसंग एकता गरी एकिकृत माओवादी बनेको पार्टीमा भुइचालो आएको छ । माओवादीको केन्द्रिय सदस्य रहेका मातृका यादवले एकिकृतको केन्द्रिय सदस्य हुन अस्विकार गर्दै पुन नेकपा माओवादीको पुर्नगठन अभियान शुरु गरेपछि अब माओवाद अंगाल्ने पार्टी समेत २ वटा बनेको छ । बुधवार पत्रकार सम्मेलन गरेरै मातृकाले आफुलाइ नेकपा माओवादीको केन्द्रिय सदस्यको रुपमा प्रस्तुत गरे । पुष्पकमल दाहाल नेकपा माओवादीको पुर्व अध्यक्ष रहेको घोषणा गर्दै उनले पत्रकार सम्मेलनमा भने-"म नेकपा माओवादीको केन्द्रिय सदस्य थिए र छु प्रचन्ड यसका पुर्व अध्यक्ष हुन अब को अध्यक्ष हुने हो त्यो भोलि थाहा हुन्छ ।
माओवादी रुचाउनेहरुका माझमा पनि नेकपा एकिकृत माओवादी हैन नेकपा माओवादी नै लोकप्रिय छ नै । अब एकिकृत माओवादीका लागि चुनौति भनेको नेकपा माओवादी हुने निश्चित छ ।पत्रकार सम्मेलनमा यादवले स्पष्ट रुपमा आफु नेकपा माओवादीलाइ पुर्नगठन गर्नतिर लागेको र यसमा धेरैले साथ दिने विश्वास ब्यक्त गरेका छन ।
उनले आफु मात्र क्रान्तकारी र आफु मात्र चोखो भएको दावा गरिरहेका एकिकृत माओवादीका सबै नेताहरुलाइ आर्थिक अराजकता बढाएको फजुल खर्च बढाएकोसुविधाभोगि र अनुशासनहिन बनेको कठोर आरोप समेत लगाएका छन । उनले एकिकृत माओवादीका नेताहरु विदेशीको दलाल भएको र मुखले राष्ट्रिय स्वाधिनताको कुरो गरेपनि व्यबहारमा चाकरीमा लागेको भन्ने कटु आरोप पनि लगाएका छन । उनले नेकपा माओवादी पूनर्गठन गर्ने सार्वजनिक गर्दा जनयुद्द शुरु गर्न सक्ने संकेत गरेका छन ।
सरकारले आफुलाई गर्ने ब्यवहार दमनकारी भएमा भूमिगत भएर जनयुद्द शुरु गर्न सक्ने संकेत गरे । उनले सभासद पदबाट पनि तुरुन्तै राजिनामा दिने बताए । नेकपा माओवादी ले नेकपा एकताकेन्द्र मसाल सित पार्टी एकिकरण गरि कुनै हैसियत नभएका, जनाधार गुमेका र जिल्ला तहका नेतालाई समेत भटाभट केन्द्रिय समिति र पोलिटब्युरोमा लगेर महत्वपूर्ण जिम्मेवारी दिएपछि अहिले पुराना कार्यकर्ताहरुमा तिब्र असन्तुष्ठि बढेको छ ।
उनले एकिकृत माओवादी मुखले क्रान्तकारी तर व्यबहारमा सुधारबादी भएकाले यसको विकल्पको रुपमा आफुले नेकपा माओवादीको पुर्नगठनको अभियान शुरु गरेको र यसमा धेरै नेता तथा कार्यकर्ता आउने दावि गरे । नेकपा माओवादीको पुर्नगठनको घोषणा गरेपनि उनले आफु केन्द्रिय सदस्य मात्र भएको र यसको अध्यक्ष को हुने भन्ने बारे भने अझै स्पष्ठ गराएका छैनन ।
एकल कम्युनिष्ट पार्टीको घोषणा गर्ने योजनामा रहेका प्रचन्डहरुका लागि यो भन्दा गतिलो झापड के नै हुन सक्छ र । साच्चिकै मातृकाले नेकपा माओवादीवाट नेकपा एकिकृत माओवादी बनेको समुहका लागि एउटा गजवको संकट ल्याएका छन नेकपा माओवादी पार्टीको घोषणा गरेर ।
यादव र पत्रकारबीचको संवादका केही अंश
अब तपाईं माओवादीको अध्यक्ष ?
म अध्यक्ष होइन । केन्द्रीय सदस्य मात्रै हो ।
कसरी अघि बढ्ने योजनामा हुनुहुन्छ ?
म अब पुनर्गठन अभियानमा लाग्छु, साथीहरूलाई जम्मा गरेर । भोलिदेखि साथीहरूको आउने क्रम सुरु हुन्छ ।
एकीकृत माओवादीबाट तपाइंको पार्टीमा कति केन्द्रीय सदस्य आउँदै हुनुहुन्छ ?
त्यो म अहिल्यै भन्न सक्दिनँ । तर, सबैलाई यहाँ स्वागत छ ।
पहिलेको जनयुद्धलाई फेरि निरन्तरता दिने कि ?
जनयुद्धलाई होइन, क्रान्तिलाई निरन्तरता दिने । उहाँहरू (सरकार) कसरी आउनुहुन्छ, त्यहीअनुसार संघर्षका रूपहरू निर्धारण हुन्छन् ।
तपाईंले क्षेत्रीय पार्टी बनाउने कि राष्ट्रिय ?
म मधेसमा जन्मेको कम्युनिस्ट हुँ । म अरू नेताहरूजस्तो सुरुमा कम्युनिस्ट आन्दोलनमा लाग्ने, चित्त नबुझेपछि गाली गरेर हिँड्ने मान्छे परिनँ । यो राष्ट्रिय पार्टी बन्छ । र, जबसम्म उत्पीडित मधेसी र उत्पीडित पहाडीहरूको बीचमा राम्रो एकता बन्दैन तबसम्म नेपालको मुक्ति सम्भव छैन । मधेसमा अहिलेसम्म क्रान्तिकारी पार्टी छैन । मुख्यतः जमिनदार र विदेशी दलालहरूको पार्टी छ । राष्ट्रियताको रक्षा मधेसीले गर्न सक्छन्, किनभने मधेसीहरू नै बोर्डरका सिपाही हुन् । हाम्रा ‘पूर्वअध्यक्ष’ले दौरा, सुरुवाल र टोपीलाई मात्रै हेर्नुभयो । उहाँले अरू वेला कहिल्यै टोपी लगाउनुभएन । प्रधानमन्त्री बनेपछि कताबाट हो कताबाट, उहाँले टोपी लगाउनुभो ।
पार्टीका साथीहरूले तपाईंलाई रोक्न खोजेनन् ?
केन्द्रीय समितिको बैठक बसेको अन्तिम दिन बिहानै मलाई कमरेड प्रचण्डले बोलाउनुभो । उहाँले भन्नुभो कि मधेसको समस्याका बारेमा लेखेर ल्याउनुस् । मैले भनेँ, ‘कति आकारको लेखेर ल्याऊँ ?’ उहाँले भन्नुभो, ‘ल्याउनुस् न दुई-अढाइ पेजको ।’ मैले ठ्याक्कै अढाइ पेजको लेखेर दिएँ । तर, लास्टमा उहाँले मलाई बिहानै फोन गरेर भन्नुभो, ‘कमरेड तपाइंसँग अर्को छ कि छैन, मैले लिएको त कहाँ पर्यो कहाँ ?’ मैले भनेँ, ‘किन नहुनु ?’ अनि लगेर दिएँ । मैले लगेर दिएपछि पार्टीमा भएका रोगहरूको विषयलाई उहाँले काटिदिनुभो । मैले भनेँ, ‘अब कसरी पार्टी बन्छ ? लेनिनले भनेका छन्- कम्युनिस्टहरू आफ्नो कमजोरी इमानदारीपूर्वक स्विकार्छन् ।’ प्रचण्डले भन्नुभो, ‘त्यसो भए त पार्टी पूरै नांगो पो बन्छ त ।’ मैले भनेँ, ‘ठीक छ, नांगै बनाएर त्यसलाई राम्रो बनाएर जाउँ न । अनि पो पार्टी बन्छ त ।’ तर उहाँले मान्नुभएन । हेर्नुस्, गिरिजाको पार्टीमा डेमोक्रेसी थिएन, हाम्रो पार्टीमा त जबर्जस्त डेमोक्रेसी थियो । जनयुद्धको वेला कमरेड प्रचण्ड सबैको कुरा सुन्नुहुन्थ्यो । उहाँले गल्ती गर्नुहुन्छ भन्ने मलाई लाग्थेन । शान्ति प्रक्रियामा आइसकेपछि उहाँ कुरै सुन्न चाहनुहुन्न । उहाँ कसको कुरा सुन्नुहुन्छ, थाहा छैन । त्यसकारण उहाँ गल्ती गर्न थाल्नुभएको छ । यहाँ मातृकालाई फकाउँछु, मातृकाले मानिहाल्छ भन्ने भ्रम थियो क्या । त्यसपछि मैले प्रचण्डलाई भनेँ, ‘कमरेड अब म यहाँ बस्नुको अर्थ छैन ।’ प्रचण्डले भन्नुभो, ‘केही सोचिसक्नु भो र ?’ मैले भनेँ, ‘मैले सोचेको भए यहाँ हुन्थँ ?’ प्रचण्डमा सिरियसनेस देखिएन । त्यसपछि म चीन गएँ, यता खैलाबैला मच्चिएछ । फेरि प्रचण्डले मलाई स्पष्टीकरणका लागि बोलाउनुभो । मैले भनेँ, ‘मैले आफ्ना कुरा गरिसकेको छु । प्रश्न छ भने सोध्नुस्, स्पष्टीकरण दिन्छु ।’ त्यसपछि उहाँले भन्नुभो, ‘भैगो । तपाईंलाई भित्री मनदेखि लागेको छ भने ।’ यति नै हो । र, म त्यहाँबाट बिदा भएँ ।
तपाईंलाई मनाउने कोसिस भएन ?
धेरै साथीले त कोसिस गर्नुभो । उहाँहरूले भन्नुभो- पार्टी बनाउन धेरै गाह्रो छ । मलाई पनि पहिला त के हुन्छ, के हुन्छ भन्ने लागेको थियो । तर मलाई के लाग्छ भने सही दिशा दिन सकियो भने जनता, कार्यकर्ता गोलबन्द हुन्छन् । त्यसकारण अब म विद्रोहको झन्डा उठाउँछु । थुप्रै नेताहरू भन्नुहुन्छ कि त्यहाँ (एकीकृत माओवादीमा) क्रान्ति छैन, तर महाधिवेशनसम्म पर्खौँ । मैले भनेँ- पर्खिनुको कुनै अर्थ छैन । किनभने अब त्यो पार्टी सुधारवादी भयो । तपाईं हेर्नुस्, कोही व्यापार गरेर बसेका, कोही के काम गरेर बसेका एकताकेन्द्रका मान्छेहरू पार्टीमा हुलिएका छन् । माओवाद टुंगिइसकेको थियो, तर फेरि माओविचारधारा भनेर पार्टीलाई ४७ सालमा फर्काइएको छ ।
जनमुक्ति सेना तपाइंको पार्टी मातहत हुन्छ कि हुँदैन ?
म जनमुक्ति सेनाको कुनै कमान्डर, समान्डर भइनँ । तर मलाई के लाग्छ भने जनमुक्ति सेनामा थुप्रै क्रान्तिकारी योद्धा हुनुहुन्छ । र, अब कता जाने भन्ने कुरा उहाँहरूमै डिपेन्ड हुन्छ । मलाई लाग्छ-उहाँहरू ढिलोचाँडो क्रान्तिको पक्षमा लाग्नुहुन्छ ।
February 12, 2009 Posted in समाचार र बिचार BY Administrator



