माओवादी क्रान्तिकारीको होइन हत्यारा र लुटेराको पार्टी हो : ओली
नेता देउवा र गगन थापासमेत कञ्चनपुरमा
विक्रम गिरी, महेन्द्रनगर २३ चैत
सत्ता साझेदार दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादी क्रान्तिकारी नभएर हत्यारा र लुटेराको पार्टी भएको आरोप लगाएका छन्। आइतबार कञ्चनपुर-४ को चुनावीसभालाई महाकालीपारीको चाँदनीमा सम्बोधन गर्दै उनले एकीकृत माओवादीको सरकारमा नेतृत्व गर्ने समय सिद्धिएको बताए। माओवादीले दण्डहीनता निम्त्याउने काममात्र गरेको आरोप ओलीको थियो। माओवादीले सरकारको नेतृत्व गरेकै कारण देश अनिश्चिततातर्फ धकेलिएको दाबी ओलीले गरे। ´माओवादीले कुनै पनि सिर्जनात्मक काम गर्न सकेन´ उनले भने। माओवादी अहंकारी भएको आरोप लगाउँदै उनले भने- ´माओवादी गोब्रे च्याउमात्रै हो, उसित कसैले डराउनुहुँदैन।´ उपनिर्वाचनले कुनै पनि दलको अवस्था र स्थितिमा फरक नपारे पनि दुरगामी प्रभाव पार्ने नेता ओलीले बताए- ´देशको भविष्यका बारेमा उपनिर्वाचनले कम्पासको काम गर्नेछ।´ एमालेको चुनावीसभालाई सम्बोधन गर्न पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारी, केन्द्रीय सदस्य रवीन्द्र श्रेष्ठलगायत आधा दर्जन केन्द्रीय नेता कञ्चनपुर आएका छन्।
नेता देउवा र गगन थापासमेत कञ्चनपुरमा
कांग्रेस वरिष्ट नेता शेरवहादुर देउवा, पूर्वराज्यमन्त्री रमेश लेखक, आरजु देउवा, युवा नेता गगन थापालगायतका नेतासमेत आफ्नो पार्टीको चुनावीसभालाई सम्बोधन गर्न महेन्द्रनगरमा छन्। माओवादीका केन्द्रीय सचिवालय सदस्य नेत्र विक्रम चन्द, खगराज भट्टलगायतका नेताले आइतबार कञ्चनपुर क्षेत्र नं-४ मा चुनावी सभालाई सम्बोधन गरे। कञ्चनपुर-४ मा यही चैत २८ गते उपनिर्वाचन हुँदैछ ।
Source:Dainikee.com
April 5, 2009 Posted in समाचार र बिचार BY Administrator



