यसरी गरे माओवादीले आक्रमण.....
लक्की चौधरी
जेठ १९ – घटना कैलालीको स्थानीय दैनिक ‘धनगढी पोस्ट’ र ‘श्री नेपाल टाइम्स’ मा लेख प्रकाशित भएपछि सुरु भएको हो । एउटै लेख धनगढी पोस्टमा जेठ ११ र श्री नेपाल टाइम्समा जेठ १३ गते ‘कस्तो दुर्भाग्य, कतै ऐन कतै चैन’ शिर्सकमा छापिएको थियो ।
लेखमा मुख्य दुइवटा मुद्दा उठाइएका थिए । एउटा उर्मा गाविस-४, रामपुरमा बनाइएको कृत्रिम तालको पानी उपभोग र ठेक्काबाट उठेको रकमको विषय थियो । अर्को सोही वडास्थित प्रसिद्ध बेहडाबाबा शिवजीको मन्दिरमा बर्सेनी लाग्ने मेलाबाट उठेको आम्दानीको अनियमितताबारे थियो । ताल सोही वडावासीले १९९७ सालमा ठूलो बाँध बाँधेर सिँचाइ प्रयोजनका लागि बनाएका थिए । २०५२ साल अगाडिसम्म तलाउ गाउँको मातहतमा थियो । सिँचाइ प्रयोजनमा रोकतोक थिएन । तालको पानीले १ सय ३५बिघा जमिनलाई बाह्रै महिना सिँचाइ पुग्थ्यो ।
सशस्त्र द्वन्द्व सुरु भएपछि ०५२ सालदेखि ताललाई गाविस मातहतमा ल्याइयो । गाविसले ताललाई माछा पालनका लागि ठेक्कामा लगायो । ठेक्काबाट पाउने रकम भने माओवादीले उठाउन थाले । यो क्रम ०६४ सालसम्म रह्यो । ठेक्काबाट उठेको रकमको ४० प्रतिशत गाउँलेलाई दिने सम्झौता भएको थियो । गाविसले नै त्यो रकम पाएन भने गाउँलेले झन् कहाँबाट पाउनु । गाउँलेले सिँचाइका लागि पानी पनि पाउन छाडे । गाविसले पानी नफाल्ने र्सतमा ठेक्का दिएको बताए पनि ठेकेदारले आफूखुसी तालको पानी फालेर माछा मार्न थाल्यो । सिँचाइको एकमात्र आधार तालको पानी बेमौसममा बाहिर फालेर सुकाइदिएपछि गाउँलेले पटक-पटक गाविस र जिल्ला प्रशासनमा गुनासो गरे । त्यसको कुनै सुनुवाइ भएन ।
अर्को मुद्दा तालमाथिको डाँडामा रहेको बेहडाबाबा शिवमन्दिरको आम्दानीको हो । हरेक साल जेठको गंगादशहरामा त्यहाँ ठूलो मेला लाग्ने गर्छ । मेला सञ्चालनका लागि व्यवस्थापन समिति बनाइएको छ । त्यो समितिमा माओवादी कार्यकर्ताकै बाहुल्य छ । त्यसअघि मन्दिरका पुजारी बरिखा गिरीको मातहतमा मेला चल्थ्यो । त्यसबापत उठेको रकम स्थानीय बेहडाबाबा मावि र पुजारीको संरक्षणमा रहन्थ्यो । कसैले दाबी गर्दैनथे । द्वन्द्व सुरु भएपछि मेलाबाट माओवादी कार्यकर्ताले रकम उठाउन थाले ।
यिनै दुइ विषयलाई मैले उक्त लेखमा समेटेको थिएँ । मुलुक शान्तिको बाटोमा उन्मुख भइसकेको र माओवादी पनि सरकारमा गइसकेको अवस्थामा स्थानीय जनताले ताल ठेक्का र मेलाबाट उठेको रकमको हिसाबबारे जानकारी पाउनुरपर्छ भन्ने मेरो माग थियो । पत्रिकामा लेख प्रकाशित भएपछि गाविसले जेठ १३ गते नौवटै वडाका बासिन्दालाई पत्र लेखेर छलफलका लागि मन्दिर परिसरमा बोलायो । बैठकमा मलाई पनि बोलाइएको थियो । एक जना पत्रकार साथीलाई लिएर म छलफल स्थलतिर हिँडेँ । करिब साढे बाह्र बजेको थियो । मन्दिर परिसरमा नौवटै वडाका र्सवसाधारण जम्मा हुनेक्रम जारी थियो । हामी भेला स्थलमा पुग्नै लागेका थियौं ।
त्यसैबेला मेला व्यवस्थापन समितिका अध्यक्ष फूलराम चौधरी, सचिव रतन खाती र माओवादीका समानुपातिक उम्मेदवार रामसमझ रानाले नेतृत्व गरेको करिब १२/१५ जनाको समूह आएर ‘केही कुरा गर्नु छ’ भन्दै बाटैबाट तानेर लग्यो । मन्दिरकै तल खाल्डोमा लगेर उनीहरूले ‘हामीविरुद्ध कलम चलाउने तँ को होस्? – माओवादीसँग हिसाब किताब खोज्ने – तँ गृहमन्त्री होस् – तँ पत्रकार गाउँको कि सहरको -’ भन्दै ममाथि आक्रमण गर्न थाले । निरमम कुट्पिट गरिसकेपछि स्थानीय कनरी चौकीबाट आएका सहायक निरीक्षक वीरभद्र खडायतसहित चार जना प्रहरीले मलाई मन्दिर परिसरमा ल्याए । उनीहरू गाविस सचिव गणेशप्रसाद ओझालाई सुरक्षा दिन आएका थिए । मलाई मिटिङका लागि जम्मा भएका गाउँलेको बीचमा लगियो । त्यसपछि पत्रिकामा प्रकाशित लेखलाई पढ्न लगाउँदै पिट्दै गरियो । प्रहरीले खतरा देखेर मलाई मन्दिरभित्रै राखेर सुरक्षा दियो । कुटपिट गरेको मेरो घर रहेको वडा ४ का बासिन्दाले थाहा पाएछन् । उनीहरू मेरो सुरक्षाका लागि त्यहाँ आए । छलफलमा आएका बाँकी ८ वटा वडाका बासिन्दा आफूहरूलाई छलफलका लागि बोलाएर कुटपिट गर्न थालिएको भन्दै त्यहाँबाट भागे । त्यहाँ माओवादीका करिब १५/२० जनामात्रै बाँकी थिए । गाउँले र माओवादी कार्यकर्ताबीच एकछिन भनाभन भयो । त्यही भनाभनपछि झडपमा परिणत भयो । झडपबाट मेला व्यवस्थापन समितिका सचिव रतन खाती घाइते भए । अन्य सबै घटनास्थलबाट बेपत्ता भए । झडप साम्य भएपछि मलाई मन्दिरबाट बाहिर निकालेर गाउँतिर लगियो । मेरो घरमा पुगेको पाँच मिनेटपछि धनगढीबाट पत्रकार र मानव अधिकारवादीको टोली आइपुग्यो । घटनाबारे जानकारी लिइसकेपछि उनीहरूले गाउँमा खतरा देखेर मलाई तत्काल धनगढी लगे । धनगढी पुगेलगत्तै गाउँलेमाथि फेरि आक्रमण भएको खबर पाएँ । त्यसमा ९ जना निर्मम कुटिएको जानकारी पाएँ । केही छिनमै घाइतेहरूलाई सेती अञ्चल अस्पताल पुर्याइयो । साँझको बेला एक जना घाइतेलाई लिएर केही पत्रकार साथीहरूसँग म अस्पताल गएँ । अस्पतालको इमर्जेन्सी कक्षको ढोकामै घाइते खडक चौधरीलाई माओवादी कार्यकर्ताले फेरि आक्रमण गरे ।
म चिकित्सकलाई जचाएर औषधि लिई सुरक्षित स्थानतिर लागेँ । त्यहाँ बस्नसक्ने अवस्था थिएन । अस्पतालमा पनि आक्रमण हुनसक्ने अवस्था थियो । गाउँलेहरूलाई कुटपिट गरेर गम्भीर घाइते बनाइएको थियो । कसैको टाउकोमा ५/७ टाँका लगाइएको थियो भने कसैको हात भाँचिएको थियो । त्यसमध्ये मीनबहादुर चन्द र रामबहादुर चौधरीको अवस्था गम्भीर थियो । उनीहरूलाई थप उपचारका लागि भारतको लखनऊ लैजान चिकित्सकले सिफारिस गरेका थिए । वातारण आतंकित थियो ।
गाउँका पुरुष जति बस्ने वातावरण नभएर अन्यत्रै शरण लिन गएको खबर पाएँ ।
अर्को दिन जेठ १४ गते प्रशासनले नागरिक समाज, मानव अधिकारवादी र पत्रकारहरूलाई छलफलका लागि खबर गर्यो । हामी प्रशासन पुग्नुअघि गाउ“का बासिन्दा र माओवादी कार्यकर्ताहरू त्यहाँ पुगिसकेका थिए । मूलद्वारबाट छिर्नेबित्तिकै ‘हामीविरुद्ध लेख्ने पत्रकार यही हो, यसलाई ठेगान लगाउनुपर्छ’ भन्दै माओवादी कार्यकर्ताले फेरि ममाथि आक्रमण गरे । मलाई कुटपिट गर्दा प्रमुख जिल्ला अधिकारी -प्रजिअ) क्षेत्रबहादुर भण्डारी र प्रहरी उपरिक्षक -एसपी) सुरेश केसी माथिल्लो तलाबाट मूकदर्शक भएर हेरिरहेका थिए । सुरक्षाका लागि प्रहरीहरू १०/१२ जनामात्रै उपस्थित थिए । उनीहरूले मलाई सुरक्षा दिन सकेनन् । मलाई बचाउन खोज्दाखोज्दै तीन/चार जना पत्रकार र इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशीले समेत पिर्टाई खाए । भीडबाट मलाई बाहिर निकालेर माथिल्लो तलामा रहेको प्रजिअको कक्षमा पुर्याइयो । पिट्ने समूह आधा घन्टासम्म प्रशासनमै थियो । पत्रकार साथीहरूले प्रजिअ र एसपीसँग कुटपिट गर्नेलाई गिरफ्तार गर्न माग गरे तर उनीहरूले कुनै चासो देखाएनन् ।
सुरक्षाको अनुभूति नभएपछि सबै पत्रकारले त्यो रात प्रजिअ कक्षमै धर्ना दिएर बितायौं । भोलिपल्ट १५ गते गणतन्त्र दिवसको दिन थियो । गणतन्त्रको खुसियालीमा ठूलो र्याली निकालिएको थियो । पत्रकारले पनि प्रेस स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी माग गर्दै बिहान विरोध र्याली निकाल्यौं । जुलुसमा नागरिक समाज, मानव अधिकारवादी, व्यापारी, महिलालगायतले ऐक्यबद्धता जनाएका थिए । जुलुस फर्केपछि प्रशासनले कार्यालय प्रवेशमा रोक लगायो । लामो विवादपछि प्रशासनले भित्र छिर्ने अनुमति दियो । हामी जुलुसमा गएका बेला राजनीतिक दलका प्रतिनिधि र प्रशासनबीच माओवादीको कुटपिटकै विषयमा छलफल भइरहेको थियो । माओवादी नेताले कुटपिटमा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको दाबी गरेपछि बिनानिष्कर्षछलफल टुंगिएको खबर राजनीतिक दलका नेताले दिए । त्यसपछि पत्रकार, मानव अधिकारवादी, नागरिक समाजका प्रतिनिधिसहित प्रजिअ र एसपीस“ग छलफलमा बस्यौ । त्यसको आधा घन्टा नबित्दै माओवादीको नेतृत्वमा एक समूह पत्रकारविरुद्ध नाराबाजी गर्दै आइपुग्यो । सुरक्षा व्यवस्था कडा बनाइएको थियो । करिब ५ सय जनाको भीड मूलगेटबाट भित्र छिर्ने प्रयास गरिरहेको थियो । हामी माथिल्लो तलाबाट त्यो भीड हेरिरहेका थियौं । तनाव निकै बढिसकेको थियो । एकछिनपछि त्यो भीडले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थाल्यो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्यो, अश्रुग्या“स प्रहार गर्यो । त्यतिले पनि नियन्त्रण नभएपछि हवाई फाइरिङ गरियो । त्यतिखेरै गोली लागेर प्रदर्शनकारीमध्येकै तीन जनाको मृत्यु भएको र ७/८ जना घाइते भएको खबर आयो । मृतकका शव र घाइतेहरूलाई अञ्चल अस्पताल पुर्याइयो । तनाव ज्यादै बढेपछि प्रशासनले धनगढी नगरमा कर्फ्यु जारी गर्यो ।
पत्रकारसहितको छलफलमा बसेको टोली सबै प्रशासनमै थुनिएको थियो । बाहिर निक्लने वातावरण थिएन । साँझमात्र हामी सुरक्षित स्थानतिर लाग्यौं । माओवादी कार्यकर्ताले मलाई जहाँ देखे पनि मार्ने धम्की दिएकाले आफ्नो सुरक्षाका लागि कैलाली छोड्न बाध्य भएँ । मेरो पत्रिका अहिले बन्द छ । अहिले म निराशा र चिन्तामा दिन बिताइरहेको छु । सुरक्षाको अवस्था भने राम्रै अनुभूति गरिरहेको छु ।
मेरो परिवारका सदस्यहरूको भने साह्रै चिन्ता लागेको छ । अहिलेसम्म आक्रमणकारीहरूलाई प्रशासनले गिरफ्तार नगरेकोमा दुःख लागेको छ ।
नोट : यो लेख कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।
June 1, 2008 Posted in पत्रपत्रीकाबाट BY Administrator No Comments »



